संघात्मक जातीय स्वायत्तता र जातीय संकिर्णता

Posted by: dipesh

विकसित र सभ्य भनिएको २० औँ र २१ औँ शताब्दिसम्म आइपुग्दा पनि मानव समाजले विभिन्न साम्राज्यवादी युद्घ, आतंककारी युद्ध,धार्मिक युद्ध,जातीय र राष्ट्रिय मुक्ति युद्ध, वर्गीय मुक्ति युद्ध झेल्दै आएको छ । र अझ भनौँ भने यो शताब्दिमा त मानव इतिहासमै नदेखिएका भिषण युद्ध र नरसंहार देखिन थालेका छन् । यी सम्पूर्ण युद्धका प्रकृति फरक फरक छन् । त्यस कारणले यीनलाई एउटै आँखाले हेर्नु अनुपयुक्त मात्र होइन न्यायसंगत पनि हुँदैन । यी युद्धका कारणहरु के के हुन् भन्ने कुराको विश्लेषण अत्यन्त जटिल हुन्छ र त्यतातिर….

जाने हो भने एउटा पुस्तक नै तयार हुन्छ । यो सानो लेखमा जाती सम्बन्धि केहि सैद्धन्तिका अवधारणा र विश्वमा देखिएका जातीय मुक्ति युद्धका केहि उदाहरणहरु र यस सँग सम्बन्धित केहि मुद्दामात्र प्रस्तुत गर्दै सारभुत रुपमा नेपालको जातीय सवालमा नै बढि केन्द्रित हुने छु । पाठकहरुले यस लेखलाई सोहि अनुसार बुझिदिनुहोला भन्ने अपेक्षा गर्दछु ।

जाती, धार्मिक समुह, राष्ट्र र नश्लको सम्बन्धमा आमरुपमा सहि बुझाइको सट्टा थु्प्रै भ्रमहरुनै रहेको पाइन्छ । कतिपयले जाती र नश्ललाई एउटै हो भन्ने बुझ्ने गर्दछन् भने कतिपयले राष्ट्र भनेको कुनै एउटा देश वा भौगोलिक सिमानाको रुपमा बुझ्दछन् । अझ कतिपय ले त जाती र राष्ट्र गतिसिल सामाजिक तत्व नभएर एउटा स्थिर र अपरिवर्तनसिल तत्वको रुपमा बुझिराखेका हुन्छन् । त्यसकारण सबभन्दा पहिले जाती र राष्ट्र सम्बन्धि केहि सैद्धान्तिक अवधारणा प्रस्ट हुनु जरुरी हुन्छ जस् बिना जातीय द्वन्दलाई सहि रुपमा बुझेर त्यसलाई हल गर्न सकिन्न किनकि यहि बुझाइ र परिभाषाले नै जातीहरुको साधन श्रोतमाथिको अधिकारलाई निर्धारण गर्दछ ।

सर्व प्रथम त जाती भनेको के हो त्यसवारे सानो परिभाषा हेरौँ ।

जाती भनेको मानिसहरुको त्यो समुह हो जसका सदस्यले कुनै एउटै पुर्खा,एउटै संस्कृति र एउटै भाषाका आधारमा आफूलाई चिनाउँछ । अब यहाँ प्रस्न आउँछ कि मान्छेको पुर्खा केलाउँदै जाने हो भने त सम्पूर्ण मानव नै एउटा साझा पुर्खाबाट आएको हो र के सबै मानव एउटै जाती हो त ? होइन । त्यसोभए साझा पुर्खा केलाई भन्ने त ? हो यो चाहिँ कुनै निश्चित जाती समुहको छनोटमा आधारित हुन्छ र यो छनोटको आधार भनेको ती जातीमा चलेको लोक श्रुती, कथा वा अन्य कुनै चाडपर्व वा रितिरिवाजले निर्धारण गर्दछ । अब अर्को भ्रमलाई पनि प्रस्ट पार्नु जरुरी छ । त्यो के हो भने जाती र नश्ल उस्तै लागे पनि यी दुई फरक कुरा हुन् । जाती एउटा सामाजीक तत्व हो भने नश्ल जैविक तत्व हो । यसको मतलव एउटै नश्लका पनि फरक जाती हुन सक्छन् र मेरो विचारमा एउटै जतीका फरक नश्ल पनि हुन सक्छन् (जस्तै नेवार जाती)। तर एउटै जातीका फरक नश्ल हुने कुरालाई बहसमै राख्नु उचित होला ।

अब राष्ट्र को परिभाषालाई हेरौँ ।

राष्ट्र भनेको कुनै निस्चित इलाकामा लामो समय देखि बसोबास गर्दै आएका मानिसहरुको त्यो समुह हो जसका सदस्यहरुको साझा पुर्खा, साझा भाषा र साझा संस्कृति हुन्छ । यहाँ जाती र राष्ट्र एउटै कुरा जस्तो लाग्न सक्छ तर जातीले सार्वभौमिकताको प्रतिनिधित्व गर्दैन तर राष्ट्रले सार्वभौमिकताको प्रतिनिधित्व गर्छ । यसको मतलव कुनै जाती संसारको जुनसुकै ठाउँमा पनि छरिएर बसेको हुन सक्छ र उसको राष्ट्रियता फरक हुन सक्छ ।

स्टालिनको परिभाषा अनुसार राष्ट्र भनेको मानिसहरुको त्यो समुह हो जसको एउटै भाषा, एउटै इलाका, एउटै आर्थिक जीवन र ऐउटै मनोविज्ञान अभिव्यक्त हुने एउटै संस्कृति हुन्छ ।

आमरुपमा राष्ट्र र देशलाई एउटै अर्थमा बुझ्ने प्रचलन छ र यसले कतिपय ठउँमा भ्रम पनि श्रृजना गर्छ । देश भनेको प्रसाशनिक संरचना को अर्थमा र राष्ट्र भनेको सामाजिक एकाइको अर्थमा बुझ्दा उपयुक्त हुन्छ ।

नेपालमा बसोवास गर्ने बिभिन्न समुहका मानिसहरुमा जाती र राष्ट्र बन्नकालागि चाहिने सम्पूर्ण गुण भएकाले नेपाल पनि बहु जातीय र बहु-राष्ट्रिय (लेखकको शब्द) देश हो भन्ने कुरामा अब भ्रम रहनु हुन्न । यद्यपि कुन कुन जातीमा राष्ट्र बन्नको लागि चाहिने गुण रहेको छ भन्ने कुरा बहसको विषय हुन सक्छ ।

अब यी परिभाषालाई यहिँ टुङ्ग्याउँ ।

जाती र राष्ट्र सम्बन्धि अवधारणाबाट के कुरा प्रस्ट हुन्छ भने, जाती र राष्ट्र भनेका कुनै स्थायी र स्थिर बस्तु नभएर यी निरन्तर गतिशिल ऐतिहासिक चिज हुन् । इतिहासमा पुराना जाती परिवर्तन हुने वा पतन हुने अनि फेरी नयाँ जाती बन्ने क्रम चलिरहेको हुन्छ । राष्ट्र र जातीको यहि गतिसिलताका कारणले जातीय पहिचान र राष्ट्रिय पहिचानको संघर्ष निरन्तर चलिरहेको हुन्छ । जहाँ जातीय र राष्ट्रिय अस्तित्वलाई स्विकारिन्छ त्यहाँ संघर्ष शान्तिपूर्ण हुन्छन् जहाँ गरिँदैन त्यहाँ हिंसात्मक हुन्छन् ।

अहिले नेपालमा राज्यको पुनरसंरचनाको बहस गरमागरम चलेको छ । राज्य पुनरसंरचना संगै जातीय मुद्दा पनि एकदम गरमागरम रुपमा सतहमा देखा परेको छ र यसले बिभिन्न विरोध, बन्द र धर्ना जास्ता संघर्षका रुपहरु पनि देखाउन सुरु गरेको छ । कतिपय अवस्थामा चाहिँ स्वदेशी तथा विदेशी प्रतिक्रियावादीको इसारामा जातीय र क्षत्रीय बिखण्डन ल्याउने कुत्सित प्रयास पनि भएको छ । त्यसकारण आम मानिसमा के भ्रम पर्न सक्छ भने जातीय सवाल उठाउनु भनेको नेपालको सार्वभौमिकतामा खलल पुर्र्यउनु हो र जातीय द्वन्द निम्त्याउनु हो । अहिले को अवस्थामा यो भ्रमबाट मुक्त हुनु नितान्त जरुरी छ ।

वास्तवमा जातीय अस्तित्वलाई स्विकार्नु भनेको नेपालको सामाजिक बनोटलाई स्विकार्नु हो र सोहि अनुरुपको राज्य संरचनालाई स्विकार्नु हो । हिजो इतिहासमा नेपाली समाज कविलाई गणतन्त्रमा आधारित थियो । तर पृथ्विनारायण शाहको नेतृत्वमा केन्द्रिकृत सामन्ति राज्यसत्ता स्थापना भएपछि विभिन्न जात जातीमाथि सामाजिक, आर्थिक, राजनैतिक, साँस्कृतिक र भाषिक थिचोमिचो हुँदै आयो फलस्वरुप अधिकांस ती जातीहरु विकासमा पछाडि पर्न गए । यसले समाजमा भिषण द्वन्द निम्त्यायो र त्यो द्वन्द अहिले घनिभुत भएको छ । यसलाई समयमा नै निरुपण गर्ने एकमात्र उपाय भनेको जातीय स्वायत्तता सहितको आत्मनिर्णयको अधिकारलाई स्विकार्नु हो । यसलाई अस्विकार गरेको खण्डमा अव नेपाल अन्तहिन गृहयुद्धमा फस्ने खतरा छ । जातीय सवाललाई खाली सार्वभौमिकताको सवालसँग मात्र जोड्ने आदर्शवादी कुराले नेपालमा कहिले पनि जातीहरु विच भावनात्मक एकता हुन सम्भव छैन ।

आत्मनिर्णयको अवधारणा भनेको सैद्धान्तिक अवधारणा हो र यसले सैद्धान्तिक रुपमा जातीहरुलाई स्वतन्त्र रुपमा छुट्टिएर बस्ने सम्म को अधिकार प्रदान गर्छ । यो एक हिसावले लोग्ने स्वास्नी बिचमा डिभोर्स गर्ने अधिकार प्रदान गर्नु जस्तै हो । अनि स्वायत्तता भनेको चाहिँ जातीय अधिकारलाई सुनिस्चित गर्ने राजनैतिक कार्यक्रम हो ।

आत्मनिर्णयको अधिकार कुनै नौलो अवधारणा होइन । यसको उत्थान युरोपका विभिन्न जाती र औपनिवेसिक राष्ट्रहरुको स्वतन्त्रता संघर्षका क्रममा भएको हो । ठोस रुपमा लेनिनले पहिलोपटक विभिन्न जाती र राष्ट्रलाई आत्मनिर्णयको अधिकार प्रदान गर्दै विशाल स्वभियत संघ खडा गरेका हुन् । यसलाई संयुक्तराष्ट्रसंघको बडापत्रमा पनि स्विकारीएको छ र विभिन्न देशले यसलाई आ-आफ्नै विशिष्टता अनुसार लागू पनि गरेका छन् । त्यसकारण आत्मनिर्णयको अधिकारलाई सैद्घान्तिक रुपमा स्विकार्ने बित्तिक्कै देश विखण्डन हुन्छ भन्ने भ्रमबाट मुक्त हुनु पर्छ । बरु त्यसलाई नस्विकार्दा चाहिँ देश बिखण्डन र द्वन्दमा फस्ने सम्भावना बढि हुने कुरा चाहिँ भारतको नागाहरुको बिद्रोह, कास्मिरी संघर्ष, श्रृलंकाको तामिल युद्ध,प्यालेस्टाइनी संघर्ष, अनि विश्वका अन्य पृथकतावादी आन्दोलनलाई हेर्दा प्रस्ट हुन्छ । कतिपय अवस्थामा “छुट्टिने अधिकार” भन्ने बित्तिक्कै डराउने वा नस्विकार्ने गरिन्छ । तर कुरा के हो भने एकता भनेको प्राविधिक वा प्रसाशनिक होइन भावनात्मक एकता हुनु पर्छ । यदि तपाईँ कसैको छुट्टिने अधिकारको सम्मान गर्नु हुन्न भने तपाईँको त्यस जातीय संकिर्णताले चाहिँ अवस्य द्वन्द र विखण्डन निम्ताउँछ ।

http://www.sunaulobihani.blogspot.com/

संघात्मक जातीय स्वायत्तता र जातीय संकिर्णता was last modified: February 20th, 2007 by dipesh
 

Blog Comments

Post Your Comments:

Your email address will not be published. Required fields are marked *