एउटा कविताको सम्झनामा

Posted by: mystique_musings

आज अलि हतारमा घर आँए। कुराहरु मनमा खेलिरहेका थिए, पोखिने आतुरीका साथ त्यो भन्दा हतार सायद मलाई थियो, ति कुराहरु बिलाएर जानु भन्दा अघि तिनलाई कतै खन्याउने। एउटा केटौले चञ्चलपन हावी भएको थियो सायद वा २६ वर्षको उमेर केटौले उमेरनै हो। सदा झैं म आएको थाहा पाउने बित्तिकै साने (मेरो कुकुर) दौडिएर तल मुल ढोकैमा पुच्छर हल्लाउँदै आइपुग्यो अनि फेरी म जुत्ता फुकाल्ने बेला मौका पाएर गालामा चाटिदियो। त्यो उसको दिनचर्याको एउटा हिस्सै भइसकेको छ अनि कम्मर मर्काउँदै म संग संगै माथि उक्लियो, उसको रुटिनको हिस्सा हो यो र यो सकिए पछि उ फेरी बरण्डा तिरै हानियो रमिता हेर्न। मैले कोठामा छिर्ने बित्तिकै मेरो ल्यापटप अन् गरें र लुगा फेर्न तर्फ लागें। लग अन गरें र हात खुट्टा धुन बाथरुम तिर लागें।विशेष कुरा त केहि भएको होइन, लेख्नलाई विशेष कुरा भनेको मुड हो, विचार हो। विचारहरु त मानौं लेखिन पाउनु पर्ने अधिकारका लागि आन्दिलित थिए मानौं राजनितिको हावाले तिनीहरुलाई पनि छोएको होस्।विहान अफिसमा कविताका कुराहरु भईरहेका थिए। म आफैं पनि अफिसका दुई जना कविहरुलाई चिन्छु। दुवैले आ-आफ्नो कविता संग्रह निकालिसकेका छन्। आजको अनौपचारिक गोष्ठीमा ती दुई मध्य पनि एक मात्र थिए। कविताकै कुरा हुदैं थिए, कविताका साना साना टुक्राहरु सुन्ने सुनाउने क्रम चलिरहेको थियो र म आफ्नै क्याबिनबाट त्यसको मज्जा लिइरहेको थिएँ। कविता धेरै लेखियो स्कुलमा हुँदा ‘आजका हामी केटाकेटी’ भन्ने जस्ता, आजका केटाकेटी शान्तिका विषयमा, युद्धका विषयमा कविता लेख्छन। हामिले वाल्यकालमा अशान्ति अनुभवनै गर्नु परेन अनि अनुभवनै नगरेको कुरामा कविता पनि लेखिएन। स्कुलका कार्यक्रमहरुमा पढेर पनि सुनाइयो, उपहार पनि पाइयो। कति चोटि त साथीहरुले पनि मेरै कविता मञ्चमा सुनाए। कस्ता दिनहरु थिए ती देश, आमा, विध्यार्थी जीवन, कलम, किताब वाहेक कुनै विषय नै नआउने। नबुझ्ने हुँदै कति रमाइलो थियो संसार!अन्तिम चोटि कविता लेखे पछि एक युगनै समाप्त भएछ क्यार, कहिले लेखियो यादनै छैन। कविता लेख्न गारो छ, म जस्ता कुनै विषयवस्तुमा बाँधिन नसक्नेले कविता लेख्नै सक्दैन।पागलको डायरी जस्ता हुन्छ मैले लेखेका कुराहरु, केहि नमिलेको, वीचबाट शुरु भई वीचमै अल्मलिएको अनि टुङ्गोमै नपुगी सकिएको। कविता कसरी लेख्ने मैले। तर एउटा कविताको खुब याद आउँछ, साथीलाई सम्झिएर डन बस्को कलेजमा कुनै टिफिन ब्रेकमा लेखिएको। स्कुललाई सम्झिएको, डेस्क अनि बेन्चहरुको नियास्रो लागेर लेखेको, डेस्कमा लेखिएका गीतहरु सम्झिएको। राम्रो भएर याद आएको होइन, चोखो भएर माया लागेको मात्र हो। कता पुग्यो होला त्यो कविता? भावना थाम्न नसकेर निस्किएका आँसु जस्ता ती कविताहरु। लय मिलाउन जथाभावी पोतिएका नभई, भावनालाई बाँध्न नियमहरु मिचिएको कविता। जसको लागि लेखें उसलाई पनि पठाएँ तिम्रै लागि भनेर लेखि पठाएँ। न खुशी लाग्यो भन्ने उत्तर आयो न घिन लाग्यो भन्ने नै आयो। आज पनि उ संग राम्रो सम्बन्ध छ, आज पनि उ नै सबैभन्दा मिल्ने साथी पनि तर कविताको सम्झना कहिले पनि भएन, बस् ठिटाहरुका कुरा आज पनि हाम्रो मुख्य विषयवस्तु। केटी अनि जागिरका कुराहरु, फुर्सदमा फिल्म हेर्न जाने योजनाहरु, पैसा नभएर गार्हो भएका कुराहरु त्यति मै हाम्रा भेटहरु टुङ्गिन्छन्। नराम्रा अनि फोहरी उपनामहरु बीच जिस्कनुको मज्जै बेग्लै छ, बाटोमा चल्दै हिंड्नुको मज्जै बेग्लै छ,कुनै काम बिना असनका गल्लीहरु अनि न्यु रोडमा केटीहरु हेर्दै राल काड्दै हिड्नुको मज्जै बेग्लै, फिल्म हल भित्र बसेर एक अर्कालाई किच-किच गर्नुको मज्जै बेग्लै छ। आजपनि हामी उस्तै, न्यु रोड परिवर्तन भयो, असनका गल्लीहरु झन् साँघुरिए होलान्, काठमाण्डुका छातीमा अझ सिनेमा हलहरु थपिए होलान् तर हामी त्यस्तै।फेरी त्यहि कवितामा लागौं। जागिर खानु भन्दा अगाडि म एकदम नबोल्ने, घुलमिल हुन नरुचाउने, आफ्ना कुराहरु मनमै दबाएर राख्ने मान्छे। त्यो कविता मेरो डायरीभित्रै चुपचाप बसिरह्यो। एक दिन फेरी स्कुलको अर्की साथी मेरो घरमा आइन र मेरो टेबुलमा छरपस्ट भएर किताब, कापी र पान्नाहरु हेर्ने क्रममा सो डायरी उनको हातमा पर्यो। मेरो मिल्ने साथी भएकोले पनि र उनको हातमा परिसकेको डायरी खोस्ने आँट पनि नभएको हुँदा पनि मैले उनलाई त्यो कविता पढ्नबाट रोक्न सकिन। उनको अनौठो प्रतिक्रिया आयो- “तिमी त ठुला कविहरुले जस्तो लेख्दो रहेछौ” कस्तो ठुलो प्रतिक्रिया मेरा लागि, कुनै कविले नदिएको भए पनि त्यो वाक्य आज पनि म संग सुरक्षित छ। बच्चा जस्ति मेरी साथी तर पनि मेरो लागि ठुलो हौसला त्यस पछि त्यो कविता धेरैलाई देखाँए, खासै राम्रो कसैलाई लागेन तर मैले पुरस्कार पाई सकेको थिए। त्यो वाक्यको मर्यादा राख्ने आँट मलाई सायद फेरि आएन र कविता पनि सायद त्यो नै अन्तिम रह्यो।अब लेख्दिन भन्ने कसम पनि खाएको छैन तर आँट गरेको पनि छैन। त्यो कविता खोज्ने विचार छ, गुगलले मेरो घरका पुराना बाक्साहरुबाट पनि फाइलहरु खोजिदिने भए क्या मज्जा हुन्थ्यो होला तर अपशोच…… भोलि खोज्नु पर्ला।

http://sandip-the-thinker.blogspot.com

एउटा कविताको सम्झनामा was last modified: July 11th, 2008 by mystique_musings
 

Post Your Comments:

Your email address will not be published. Required fields are marked *