Top Stories

EverestUncensored Correspondent

HIKE

शेरचनका कर्तुत र नैतिकताको प्रश्न

amik_sherchan.jpg
उपप्रधानमंत्री अमिक शेरचनको नेतृत्वमा रहेको जनमोर्चा नेपाल फेरी फुटेको छ। फुटपछि अब जनमोर्चा नेपाल तीन टुक्रामा बिभाजित भएको छ । छ जना सांसदको बलमा माओवादीको आड् लिएर उपप्रधानमन्त्रि र स्वास्थ्य मन्त्रि पड्काउन सफल भएका अमिक शेरचनसँग अब एक जना सांसद लिलामणी पोखरेलको मात्र समर्थन रहेको छ । यसअघि जेठमा चित्रबहादुर केसीको समूह अलग्गिएको थियो । विभाजनपछि जनमोर्चाका ६ सांसदमध्ये केसीसँग उनी आफैँ, डिलाराम आचार्य र हरि आचार्य सहित तीन सांसदहरुको समर्थन रहेको छ । हालै बिभाजित भएर चित्रबहादुर आलेको नेतृत्वमा ‘जनमोर्चा नेपाल राष्ट्रिय सम्मेलन केन्द्रीय समन्वय समिति’ गठन गरेको समुहसँग परि थापा र नवराज सुवेदी गरि दुई संसदहरुको समर्थन रहेको छ। तर पार्टीलाई फुटाएर पनि तिनै पक्षले एउटै नाम जनमोर्चा नेपाल नै प्रयोग गर्दै आईरहेका छन । यसरी ‘जनमोर्चा नेपाल’ को नाममा अब चित्रबहादुर आले, अमिक शेरचन र केसीले नेतृत्व गरेका तीन दल बनेका छन्।

करीब चार वर्षअघि नेकपा एकता केन्द्र र मसालको एकीकरणबाट ‘नेकपा एकता केन्द्र–मसाल’ बनेपछि तिनको खुला राजनीतिक सङ्गठनका रूपमा रहेका संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चामा पनि एकीकरण भएर जनमोर्चा नेपाल बनेको थियो। जनमोर्चाबाट सरकारमा प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री बनेका अमिक शेरचन र सरकारमा सहभागी हुन नहुने अडान राख्दै आएको केसी पक्षको स्वेच्छाचारिता र फुटपरस्त नितिकै कारण दलमा एकता हुन नसकेको आले पक्षधरहरुको आरोप छ।

यो बिभाजनपछि अमिक शेरचनका अगाडी नैतिकताको प्रश्न खडा भएको छ । यदि शेरचनले दलीय व्यवस्थामा विश्वास गर्ने हो भने तुरुंतै राजिनामा गर्नुपर्ने आले पक्षले बतएको छ । तर शेरचनले भने आफुले कुनै पनि हालतमा राजिनामा नगर्ने बताएका छन । बरु उल्टै गत बुधबारको शिखर वार्तामा फुटेर गएको भनेर परि थापालाई सहभागी गराउन शेरचनले नै इन्कार गरेको भन्ने समाचार प्रकाशमा आइसकेको छ ।

यद्यपी शेरचनलाई नैतिकताको प्रश्न ज्यादै ठूलो नहुने अर्का थरीहरुको बिश्लेषण रहेको छ । यसअघि उनले सर्बोच्च अदालतको आदेशलाई समेत उल्लंघन गर्दै चितवनको बीपी कोइराला मेमोरिएल क्यांसर अस्पतालको कार्यकारी अध्यक्षमा आफ्नै पार्टीका कार्यकर्ता भर्ती गर्ने प्रयास गरेक थिए । त्यसपछि शेरचनको व्यापक आलोचना भएको थियो । यी आलोचनाको बाबजुद पनि उनले स्वास्थ्य मंत्री पदको व्यापक दुरुपयोग गर्दै देशभरिका अस्पतालका संचालक समितिहरुमा आफ्ना मान्छे भर्ती गरिसकेका छन । शेरचनको यो प्रयासलाई जान्ने बुझ्नेहरुले आफ्नै बलबूतामा चुनाव जितेर सांसद समेत हुन नसकेका शेरचनले चिट्ठा परेर उपप्रधानमंत्री हुन पाएको मौकामा चौका हान्न गरिरहेको प्रयासको रुपमा विष्लेशण गरेका छन् । तर आफुलाई कम्युनिष्ट भन्न रुचाउने नेताले यस्तो व्यवहार गरेकोमा उनको पार्टी भित्रै पनि व्यापक असंतुष्टी रहेको छ । यही मौकालाई उपयोग गर्दै आले पक्षले शेरचन पक्षकै थुप्रै कार्यकर्ताहरुलाई तान्न सफल भएको दाबी पनि गरेको छ ।
यस्तै स्वेच्छाचारी निति उनले आफ्नो गृहजिल्ला चितवनको एउटा पब्लिक क्याम्पसमा पनि अवलम्वन गरेका छन । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको स्थापनादेखि हालसम्म उनले संचालक समितिको अध्यक्ष पद छोडेका छैनन । उनले आजीवन यो पद नछाड्ने बरु त्यसको लागि जुनसुकै कसुर गर्न पनि तयार रहने त्यहांको व्यवस्थापन संग निकट सम्बन्ध रहेका एक प्राध्यापकले बताए ।

यसरी कम्युनिज्मको आवरणमा राजनितिक प्रभाव र पछिल्लो समयमा पदको दुरुपयोग गर्दै आईरहेका शेरचनले मंत्रालयभित्र अनगिंति अनियमितता गरिरहेको मंत्रालयकै एक कर्मचारीले नाम नबताउने शर्तमा एभरेष्ट अंसेंसर्डलाई बताएका छन । कर्मचारीहरुको सरुवा बढुवामा समेत उनले मोटो रकम लिएर धाँधली गर्ने गरेको ती अधिकारीले ठोकुवा गरेका छन । यो प्रसंग यस अघि मिडियामा समेत आइसकेको छ । मोटो रकम लिएर नै उनले जनआन्दोलनका बिरोधि वा तत्कालिन राजाको सरकारलाई सहयोग गरेका कर्मचारीहरुलाई उल्टै पुरस्कृत गरेको समेत ती अधिकारीले बताएका छन ।
यसरी सत्तालाई व्यक्तिगत प्रयोजनका लागि चरम दुरुपयोग गर्दै आईरहेका शेरचनलाई नैतिकता संधै गौण रहने उनका नजिकबाट काम गरिसकेकाहरु बताउँछन । यसअघि प्रधानमंत्री बिदेश गएका बेला को चाहिँ कार्यवाहक उपप्रधानमंत्री हो भन्नेमा सार्वजनिक रूपमै केपी ओलीसंग मतभेद प्रकट गरेपछि उनको सत्तलोलुपता प्रष्ट भएको थियो । यसपटक पनि सत्तामा रहिरहनका लागि बरु फेरि माओवादीको शरणमा जाने तर पद नछोड्ने लक्षण उनले देखाएका छन ।

One thought on “शेरचनका कर्तुत र नैतिकताको प्रश्न

  1. What more we can expect from these leaches? Its time for media to bring these stuffs to people’s attetion. Thank you for bringing this to public.

Leave a Reply

Your email address will not be published. Required fields are marked *