Top Stories

EverestUncensored Correspondent

HIKE

राजाद्वारा रायमाझी आयोगलाई बयान दिन अस्वीकार


राजा ज्ञानेन्द्रले जनआन्दोलनमा भएका दमनका बारेमा छानबिन गर्न गठीत उच्चस्तरीय जांचबुझ आयोगलाई तोकिएको समयभित्र बयान दिन अस्वीकार गरेका छन । जनआन्दोलनमा भएका दमनमा तत्कालीन मन्त्री परिषद अध्यक्षको रुपमा राजाको भूमीका बारे प्रष्ट पार्न भन्दै रायमाझी आयोगले राजालाई गत बुधबार प्रश्नसहितको पत्र पठाएको थियो ।

निर्धारित समयमा दरबारको प्रतिक्रिया प्राप्त नभएपछि आयोगले राजाबिरुद्ध थप कदम भने नचाल्ने भएको छ । उसले सबुत प्रमाण र अन्य व्यक्तिहरुको बयानको आधारमा दोषी व्यक्तिलाई करवाहीको सिफारिशसहित् प्रतिवेदन बुझाउने बतएको छ । आयोगले कात्तिक दश गते सम्ममा आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरिरहेको छ । प्रतिवेदन तयार गर्न आयोग पदाधिकारीहरु राजधानी बाहिर गोप्य ठाउँमा जाने बताएको छ ।

अस्वीकारपछिको अवस्था
राजाले बयान दिन अस्वीकार गरेपछि बिभिन्न प्रकारका प्रतिक्रियाहरु सार्वजनिक भएका छन । अन्य व्यक्तिहरुलाई आयोगमै बोलाएर बयान लिइनु तर राजालाई भने प्रश्नावली मात्रै पठाइएपछि आयोग निष्पक्ष हुन नसकेको आक्षेप लगिरहेको थियो । एभरेष्ट अंसेंसर्डमै एकजना पाठकले राजालाइ पनि अन्य व्यक्तिहरुलाई जस्तै आयोगमै बोलाएर प्रतिक्रिया लिइनुपर्ने प्रतिक्रिया दिएका थिए ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराले दमनकारी सैनिक अधिकरीहरुलाई सरकारले कार्वाही गर्न डराएकोले नै राजाले आयोगलाई अवज्ञा गर्ने दुस्साहस गरेको प्रतिक्रिया दिएका छन । त्यसो त प्रधानमंत्री गिरिजाप्रसाद कोइरालाले नै राजालाई आड दिइरहेको मान्नेहरुको जमात पनि ठूलो छ । बेला बेलामा आयोग पदाधिकारीहरुले पनि सरकारबाट पर्याप्त सहयोग नभएको गुनासो गर्दै आईरहेका छन । केहिले भने जनताको प्रतिक्रिया हेरेर एक दुई दिनमा दरबारबाट औपचारकिता स्वरूप सामान्य प्रतिक्रिया आउन सक्ने अड्कल पनि गरेका छन । जे भएपनि यो घटनाले आयोगको प्रतिवेदनले सिफारिश गरेपनि राजामाथि कारवाही हुनेमा शंका उब्जाएको छ ।