Top Stories

Mabi Singh

HIKE

यो अमेरिकामा – १

“ए तपाई नेपाली हो?” पछाडीबाट मेरो कांधमा हात हाल्दै एउटा आवाजले सोध्यो ! रेलमा सिधै कांध माथी हात हालेकोमा अनौठो लागेको थियो तर मैले “हो” भनें !

“ए बडा खुशी लाग्यो, मेरो नाम “राम” ! यो अमेरिकांमा पनि रेड, ग्रीन लाईनको रेलमा टन्न नेपाली भेटिदो रहेछ ! हिजो अस्ती नि भेटें ! नेपाली केटीहरु रहेछन् ! कस्तो फोहोर फोहोर कुरा गरेर बस्ने नि यो अमेरिकामा ! नेपाली केटाहरू त हेर्नै न लाग्दैन पो भन्छन् है यो अमेरिकामा ! म नि तिनीहरुका कुरा नबुझेझै गरेर सुनि रहें ! म तिर हेर्दै त्यो मोरो मदिसेले कस्तो …

हेर्या पो भन्दा रहेछन् ! हैन अमेरीकांमा आउनु भा’को कति भो?”

“चार बर्ष जति भो !”

“ए यो अमेरीकांमा म आएको ठ्याक्कै एक बर्ष पुग्न आट्यो ! यो अमेरीकामा त दिन पनि कति छिट्टो बित्दो रहेछ ! यो अमेरीकामा आएको हिजै जस्तो लाग्छ ! अनि बसाई कता तिर नि ?”

“नेटिकमा बस्छु!”

“कता हो नेटिक भन्या ? सत्ते अमेरीका आए देखि कंहि गा’भए ! फेरी प्लेनमा चढ्दा आई डि चाहिने रहेछ ! यो अमेरिकामा गाडी नभई केही गर्न पाए त हो ! कति बिशाल रै’छ हो यो अमेरीका त ! अनि अमेरीकामा तपाईको हरियो पत्ता छ?”

“के हो हरियो पत्ता भनेको ?” मैले सोधें !

” अमेरीकाको ग्रीन कार्ड के ?”

” परमानेन्ट रेजीडेन्सी छ !”

“के के हो के के यो अमेरीकामा ! त्यसो भए तपाईको कागज भा’को कि नभा’को यो अमेरीकामा ?”

“लिगल हो ! अनि तपाईको नि ?”

“आफ त तेही हो ! आर्काको टुरीष्ट भिसामा आईयो फोटो फेरेर यो अमेरिकामा ! यी बसिया छ तैतिकै यो अमेरिकामा ! कुनै दिन समाइए फर्कन पर्ला यो अमेरीकाबाट !”

“अनि कंहा काम गर्दै हुन हुन्छ त ? कलेज तिर लागे त भिसा पाईन्छ नि”

“चार लाख तिरेर यो अमेरिकाको भिसा लिएर आ’को पैसा त पहिले उठाउनु प-यो नि पैला! यो अमेरिकामा का पाउन केही गाह्रो हुन्न रै’छ ! पहिले धोतीको गरियो, दल्न सम्म दल्यो साला धोतीले ! धोती र नेपालीहरुले कम टिप्स दिंदा रहेछन् ! त्यै पनि त्यो *&^% साहुले लिई दिने यो अमेरीकामा पनि ! त्यसपछि डोनट पसलां गरियो ! त्यसपछि यो अमेरीकामा सुसी बनाईयो बुझ्नु भो ! जोर्नी दुखेर भुतुक्कै पार्ने रहेछ ! अहिले स्याण्डबिच पसलां ! गाडि जान्या भए पिजा डेलीभरी गर्न हुन्थ्यो। टन्न टिप्स पो हुन्छ भन्ने सुन्छु ! के को लाज काम गर्न यो अमेरीकामा हैन त, साथी ! अनि तपाई चाहि के गर्न हुन्छ नि यो अमेरीकामा?” सब-वेमा अंगालै मार्ला जस्तो गरेर उनले भने !

“म यूनिभर्सिटिमा काम गर्छु !”

“बसेर गर्ने का कि उठेर? दई थरीका काम हुंदो रै’छ यो अमेरिकामा !”
“कहिले बसेर कहिले उठेर !”

“बसेर गर्ने बेला त हरियो कमाउनु निकै हुन्छ होला नि यो अमेरीकामा ! कति कमाउनु हुन्छ?”

“अलि अलि। ट्याक्स पछि भाडा तिर्न र अरू खर्च गर्दा पुग्छ ! फेरी यूनिभर्सिटीमा र रिसर्चमा बाहिर कम्पनि जस्तो पैसा पनि हुंदैन नि ! त्यहि चालीस पचास हजार बच्ने त हो नी !”

“ए टयाक्स पनि लाग्छ यो अमेरीकामा ? तपाई भन्दा त मैले बढ्ता पो कमाउदो रहेछु !
आफू त क्यासै बाहेक केही गरिन्न, आफू त अमेरीकामा सात सात जना साथी मिलेर बस्या छौ दुई सय लाग्छ महिनाको ! फेरी आफ्नो त ब्रेकफाष्टै स्याण्डविच, लन्चै स्याण्डविच, डिनरै स्याण्डविच यो अमेरीकामा ! डेरामा कोही साथीहरू भात पकाएर खान्छन् बिजुली बालेर ! आफू भने बिन सित्तीमा बिजुलीको पैसा मात्र तिर्न पर्छ ! आफूले त यो अमेरीकामा आधा धण्टा बत्ति बाल्या भए त के ! बिहानै उठ्यो…..काममा गयो… सुरङ्गै सरङ्ग राती फर्केर आयो सुरङ्गै सुरङ्गै… यो अमेरीका भनेकै सुरङ जस्तो लाग्न थाल्या छ ! बरू तपाईलाई नि भोक लाग्या होला, स्याण्डविच खानु हुन्छ ? चिकेन नि छ, रोष्टेड बिफ नि छ ! यो अमेरीका बसे पछि बिफ पनि दिन पर्यो नि ! बाहून हिन्दू भनेर कहा साध्य ? झोला म तिर फर्काउदै भन्यो !”

“हैन म मासु खान्न !”

“यो अमेरीकामा पनि थुप्रो मान्छेले नास नखादो रै’छ ! भेजीटेरियान नि छ, मशरूम गोट चिज वाला। भोली ब्रेकफाष्टलाई भने र ल्या’को, बिहान बिहान के मासु खान भनेर ! आफू त खांदा खांदा हैरान। पेट त पानी मात्र पिए पनि बढ्ने रे’छ यो अमेरीकामा !”

“मेरो साउथ स्टेशन आई पुग्यो लागें है ” भनेर जानै के लागेथें “लानुस् लानुस्” भनेर मेरो हातमा एक पोका स्याण्डविच थम्याई दिए यो अमेरीकामा !