Top Stories

Dovan Rai

HIKE

ऊ र म

ऊ र म एकै शालको ।
गोबर सोहर्दा सोहर्दै उसलाई जन्माउदा उस्की आमा गोठमै बितिन । अवस्था त मेरी आमाको पनि कम नाजुक थिएन ।तर अपरेशन गरेर तै हामी दुबै बाच्यौ ।

ऊ हाम्री खेतलकी छोरी हो ।उस्की कान्छी आमापट्टिका उमुनी दुई भाइ र तीन बहिनी छ्न । मेरो बुवा सरकारि हाकिम हुनुहुन्छ, आमा गैरसरकारि संस्थामा काम गर्नुहुन्छ अनि मेरो एक भाइ छ, मभन्दा पाच बर्ष कान्छो।

उसंग पहिलो भेट हिउदे छुट्टिमा म गाउ जादा भएको थियो। बाजे बोजुको र काका काकीको अगाडि मेरा बोर्डिंग स्कूलका अंग्रेजि राइम्सहरु नाचि नाचि मैले गाउदा, ढोकाको चेपबाट, आफुभन्दा अढाइ बर्ष कांछो भाइ च्यापेर ऊ ट्वाल्ल परि एकटक हेरिरहेकि थिई । स्कूल जाने इच्छा त उसलाई त्यसबेला देखिनै थियो। तर नौ पुगि दश लागे पछि मात्र बल्ल बल्ल त्यहिको नि. मा. वि. मा दुइमा भर्ना भई । आमाले मेरो पुरानो झोला र जामा दिदा लाजले र हर्षले, कुम साघुराउदै केहि नभनि सामान टिपि खुर्र भागि ।

म उसलाई अक्षर सिकाउन बस्थे । म शिशा कलमले लेख्थे , ऊ त्यसलाई डटको रिफिलले उतार्थि। उसको अज्ञानतामा म आफ्नो बढप्पन महशुश गर्थे । मेरा मनगढंते कथाहरु, फुच्चे किस्साहरु ऊ अवाक परेर सुंथि, कुनै प्रश्न बिना, कुनै सन्देह बिना । मलाइ अहिले सोच्दा लाग्छ शायद ऊ भ्याक्युम थिई । जे दिए पनि लिने, जे देखे पनि हेर्ने, जे भने पनि सुन्ने । हुन त त्यस डाडामा लिनलाई, हेर्नलाई, सुन्नलाई कति नै पो कुरा हुन्थे र !

हो, ऊ र म समान भएर पनि हामिबिच धेरै असमानता र बिडम्बनाहरु थिए । कैला केश , फुस्रो छाला अनि दुब्लो र झिनो शरिरले गर्दा ऊ मसगैको भएर पनि मभन्दा निकै कान्छो देखिन्थि।
तर उस्का जर्जरिएका हात अनि कडा पाउहरुले छुट्टै कथा बोल्थे । म यहा बालश्रम विरुद्द बक्त्रित्वकलामा बोल्दै गर्दा ऊ त्यहा आफुभन्दा ठुलो भारी उचाल्दै हुन्थि । म नया बजार घुम्न जादा ऊ बर्खेमा वस्तु धपाउदै हुन्थि । राति म होम्वर्क गर्दा ऊ ढिकिमा उंग्दै हुन्थि। मेरो हेयरब्यांड अड्काउने ठाउमा त सधै उसका दाम्ला अल्झिन्थे । साच्चै मेरो ट्युशन फी मात्रै उसका बाउले महिनाभर छाम्न पाउने रकम हुन्थे ।

एस. एल. सी. दिएपछि म गाउ जादा फेरि हाम्रो भेट भयो । मजस्तै ऊ पनि तरुनी भैछ । उसले मलाई हेरेकि थिई , मेरो कानमा झुन्डेको कुन्डल, मेरो बुच्चे टि सिर्ट र जिन्सलाई सर्सर्ति नियालेकि थिई । तर ति आखामा मेरा यताका साथिहरुको जस्तो लेखाजोखा थिएन । तिनले त मात्र हेर्न जानेका थिए , मुल्यांकन गर्न हैन । मैले पनि देखे , त्यो पित्तलको टप उसमा सुहाइरहेको थियो अनि खुइलेको कुर्ताबाटै पनि उस्को यौवन मुस्कुराइरहेको थियो । एस. एल. सी. दिएपछि के गर्छौ ? काठमान्डौ आउने रहर छ कि छैन ? पछि के गर्ने ? मेरा यि प्रश्नहरुको उसंग कुनै रेडिमेड उत्तर थिएन, मानौ उसले यसबारे सोचेकै छैन, कुनै योजना नै छैन, भविष्यको चित्रण नै छैन । हो, मैले झै बैशलाई एम. टि. भि. बाट आफुमा ढाल्न र बजारबाट आफुमा भर्न उसले अझै जानिसकेकि थिईन । उसको यौवन, उसको बैश त अझै कांचो थियो । अनि जीवनप्रतिका मेरा आकांक्षहरु त्यसतरि चुलीसक्दा पनि उसका सपनाहरु अझै कच्चा थिए । म सोच्दै थिए, कति सिमित छन उनका सपनाहरु, कति न्यून छन जीवनप्रतिका अपेक्षहरु र कति शुन्य छन संसारसंगका उनका मागहरु ।

म सोच्दै थिए अनि मैले हिजो सुने, ऊ पनि गाउमा आएको एक जत्थासंगै क्रांतीको नारा लिएर बन्दुक बोक्न हिडिन रे ।

मलाई बिश्वास छैन बन्दुकमा अझ भनौ वित्रिस्ना छ, घ्रिणा छ । मलाई रहर छैन क्रांतीको अझ अब त बेवास्ता छ ।
किनकि हिजै मेरो भिसा लागिसकेको छ । यस साघुरो शहर अनि सानो देशमा अचटिएर म, गुम्सिएर मेरा योग्यता अनि दक्षताहरु म माथिको यस सानो देशको सम्पूर्ण लगानिको पोको कसेर अब उछ्छिटिदैछु म अमेरिकातिर।